धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरको कार्यकक्षमै वडाध्यक्षहरु बिच हातपात भएको छ । मंगलबार मेयर गोपाल हमालको कार्यकक्षमा वडाध्यक्षहरु बिच लफडा भएको हो ।
वडा नम्बर ६ का वडाध्यक्ष भागिराम चौधरीले आफुमाथि मेयरको कार्यकक्षमै आक्रमण गरेको दाबि गरेका छन् । उनले आफुलाई वडाध्यक्ष सन्तोष मुडभरी र गजेन्द्र शाहीले आक्रमण गरेको बताएका छन् ।
मेयर हमालको कार्यकक्षमा चलिरहेको बैठ्कमा आफुलाई अपशब्द प्रयोग गर्दै आक्रमण गरेको उनको दाबि छ । चौधरीले आफुमाथि आक्रमण हुदाँ वडाध्यक्ष शेर बहादुर महरा र रामलाल चौधरीले बचाएपछि बाहिर भागेर ज्यान जोगाएको बताए ।
यस्तै वडाध्यक्षहरु सन्तोष मुडभरी, गजेन्द्र शाही र प्रेम भण्डारीले वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजाललाई समेत आक्रमण गर्न खोजेपछि उनि पनि बाहिर भागेको बुझिएको छ ।
मेयरको कार्यकक्षमै अन्य वडाध्यक्षहरुलाई आक्रमण गर्ने मुडभरी, शाही र भण्डारीलाई कारबाहीको माग गर्दै ८ वडाध्यक्षहरुले ज्ञापनपत्र बुझाएका छन् । उनिहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिने बताएका छन् ।
धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरु बिच लामो समयदेखी जग्गा कित्ताकाटको बिषयमा विवाद हुदैँ आएको छ ।
आक्रमण गर्ने वडाध्यक्षहरुले भने आफुहरुले आक्रमण नगरेको दाबि गरेका छन् ।