काठमाडौँ : ‘प्रहरी हौँ’ भन्दै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सुन पसलमा लुटपाट भएको छ । लुटपाटमा संलग्न एक जनलाई प्रहरीले पक्राउ गरेको छ भने ३ जना अझै फरार रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रहरीले घटनामा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ४८ वर्षीय भाग्यराम पाइनलाई पक्राउ गर्न सफल भएको हो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ अत्तरखेल बस्दै आएका पाइन र उनको समूहले गत जेठ १३ गते सोहील बाह्रबिसे सुनचाँदी पसलमा लुटपाट गरेका थिए ।
अनुसन्धानको क्रममा घटनामा पाइनको समूह संलग्न रहेको खुलेको थियो । पाइनलाई प्रहरीले गत जेठ १४ गते गोकर्णेश्वरबाट चोरी गरेको सुनका केही गहनासहित पक्राउ गरेको उपरीक्षक रेग्मीले जानकारी दिए ।
उनको साथबाट ५० दरको ३ सय अमेरिकी डलर र मोबाइलसमेत प्रहरीले बरामद गरेको थियो । पाइनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । लुटपाटमा संलग्न अन्य ३ जनालाई प्रहरीले खोजी भइरहेको प्रहरीको भनाई छ ।