धनगढी : कैलालीमा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ सम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकासँगै अन्य पालिकाले पनि बिदा दिएका छन् । गोदावरी नगरपालिका, टीकापुर नगरपालिका र लम्की चुहा नगरपालिकाले गर्मी बिदा दिएका छन् ।
जानकी र जोशीपुर गाउँपालिकाका विद्यालय भने बिहान सञ्चालनमा छन् । कैलाली बहुमुखी क्याम्पसले असार ३ सम्म बिदा दिएको छ ।
केही दिनयता धनगढीमा अत्यधिक गर्मी बढेको छ ।