धनगढीः धनगढीको नापी कार्यालयमा सेवाग्राहीबाट घुस माग्ने २ कर्मचारी निलम्बित भएका छन्। उनीहरुको विषयमा छानबिन गर्न समिति गठन गरिएपछि निलम्बित भएका हुन्।
गत जेठ ४ गते एक जना अमिन र ६ गते सर्वेक्षकले सेवाग्राहीसँग घुस मागेको विषय बाहिरिएको थियो। त्यसमा छानबिन गर्न समिति गठन गरिएको थियो। जेठ ४ मा साबिकको दरख गाविस हेर्ने जिम्मेवारी पाएका अमिन र ६ गते चौमाला हेर्ने सर्वेक्षले घुस मागेको सेवाग्राहीले गुनासो गरेका थिए। जेठ ४ गते लेखापढी व्यवसायीमार्फत सेवाग्राहीबाट रकम असुल गरिएको थियो भने ६ गते सेवाग्राहीसँग २ लाख घुस माग्न कर्मचारीले बार्गेनिङ गरेको विषय बाहिर आएको थियो।
कर्मचारीले सेवाग्राहीबाट रकम असुल गरेको र गर्न खोजेको विषय बाहिर आएपछि उनीहरूमाथि छानबिन गर्न नापी अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। घुस असुल गर्ने विषयमा नाम जोडिएका कर्मचारीलाई फाँटको जिम्मेवारीबाट मुक्त गरेर छानबिन भइरहेको प्रमुख नापी अधिकृत जनकराज भट्टले बताए।
नापी कार्यालय धनगढीमा कार्यरत अमिन ईश्वर चौधरी र अक्षय कठरियामध्ये एकजनाले सेवाग्राहीसँग १५ हजार घुस उठाएको विषय सार्वजनिक भएको हो। नापी कार्यालय धनगढीका अमिनले घोडाघोडी नगरपालिका–१ कैलाशपुरका सेवाग्राही सर्पन विश्वकर्मा, धर्म विक र नन्दकला विकबाट घुस खाएका हुन्।
त्यस्तै, जेठ ६ गते सर्वेक्षक जयबहादुर साँकीले चौमालाका सेवाग्राही बलराम सापोकोटासँग बाटोको लगत कट्टा गरेको २ लाख घुस मागेको आरोप लागेको थियो।