दार्चुला – व्याँस गाउँपालिका १ तिङ्करका स्थानीय आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन् । छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन् । तर तिंकरको छायालेकमा बस्दै आएको नेपाल प्रहरी अझै सदरमुकाम खलंगामै छन् ।
व्यासी सौका समुदाय सदरमुकाम खलंगाको गर्मी छल्न गाउँ पसेका हुन् । गत मंसिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिंकरीहरुको ताला छ महिनापछि खुल्न थालेको छ । “पाँच परिवार तिंकर पुगिसकेका छन्,” स्थानीय दानसिह तिंकरीले भन्नुभयो, “३५ परिवार खलंगाबाट मंगलबार हिडेका छन् उनीहरु बाटोमा छन् ।” सदरमुकाम खलंगाबाट ५ देखि ६ दिनमा तिंकर गाउँ पुगिन्छ । भारतीय प्रशासनको अनुमति लिएर स्थानीय हिमाल उक्लिएका हुन् । खलंगाबाट पहिलो दिन दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुदि पाँचौ दिन छांगरु र छैटो दिन तिंकर पुगिन्छ ।
पशुचौपायासहित कुञ्चा सर्दा ६ दिन लाग्छ भने स्थानीय भने अहिले ५।६ घण्टामै गाडीमा गाउँ पुग्छन् । भारतीय प्रशासनले अनुमति दिन ढिलाई गर्दा यो पटक बसाई सराई केही ढिला भएको स्थानीय बताउँछन् । गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ । साथै जेठमा यार्सागुम्बा संकलनको काम हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन् ।
तिंकर गाउँ चीनको सीमा नजिकैको गाउँ हो । तिंकर गाउँभन्दा आधा घण्टा माथि नेपाल प्रहरी बस्छ । छायालेकबाट चारदेखि पाँच घण्टाको दुरीमा नेपाल–चीन १ नम्बर सीमा स्तम्भ छ ।
स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छांगरु तिंकर बस्छन् । यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा छ महिना मात्रै छायालेक बस्ने गर्छ । स्थानीयको बसाई सरेसँगै खलंगा झरेका नेपाल प्रहरी स्थानीय गाउँपुग्दा पनि सदरमुकाम खलंगाबाट माथि उक्लिन सकेको छैन् ।निर्वाचनको समय आउन पनि ८ दिन बाँकी छ । निर्वाचनको लागि मतदान केन्द्र पनि तिंकरमै तोकिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्ट हेलिकप्टरमार्फत प्रहरी तिंकर पठाउने तयारी भएको बताउँनुहुन्छ । “हामीले प्रक्रिया बढाई सकेका छौ”ं उहाँले भन्नुभयो, “तर अझै हेलिकप्टर कहिलेआउँछ भन्ने एकिन भएको छैन् ।”
प्रहरीको ६ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकप्टर माग गरिएको डिएसपी विष्टले बताउनुभयो । विगतमा पनि हेलिकप्टरमार्फत पठाउने गरिएको छ । प्रहरीलाई वैशाख २७ गते अगावै पठाउने गरि पहल भइरहेको छ ।
छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बर्षभरी बस्दै आएको छ । यस्तै सशस्त्र प्रहरी पनि छांगरुमै छ । गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोष्ट (बीओपी) भवन निर्माण गरिएको छ । तर अहिलेसम्म सशस्त्र प्रहरीलाई खटाउने बारेमा निर्णय नभएको सशस्त्र प्रहरीले जनाएको छ ।