दार्चुला – दार्चुलामा सत्तारुढ गठबन्धनका दुई जना मन्त्री आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचार प्रसारमा हिडेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी निर्वाचन आंचारसहिंता लत्याउँदै चुनावी प्रचार प्रसारमा होमिएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार जिताउन दुवै मन्त्री अहिले जिल्लाका विभिन्न चुनावी सभामा छन् । नौगाड गाउँपालिकामा चुनावी सभा सकेर दुवै जना मन्त्रीले बिहीबार लेकम गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गरेका छन् । उनीहरु लेकम हुँदै मालिकार्जुनसम्मको चुनावी सभामा व्यस्त देखिएका छन् ।लेकम गाउँपालिकामा गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका अध्यक्ष रामदत्त जोशी र उपाध्यक्षमा सुना जोशी उम्मेदवार बनेका छन् । जोशी उपाध्यक्षका उम्मेदवार हुन् ।
यस्तै मालिकार्जून गाउँपालिकामा गठबन्धका तर्फबाट काग्रेसका नरेन्द्रसिह धामी र उपाध्यक्षमा माओवादीका कल्यानसिह धामी उम्मेदवार बनेका छन् ।
निर्वाचन आचारसहिताले प्रदेश सरकार, संघीय सरकारका कुनै पनि मन्त्रीहरुले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारमा संग्लन हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ । तर मन्त्री धामी र बडुले अचारसंहिताको ठाडो उल्लंघन गर्दै दिनहुँ चुनावी आमसभामा सहभागि छन् । उनीहरुले चुनावी प्रचार प्रसार गरेको बारेमा नेकपा एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी समेत दिएको छ ।