धनगढी : सशस्त्र प्रहरी बल, नेपालले २४ सै घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ ।
मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाहरूको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।
सशस्त्र सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरूमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन तथा अन्य युनिटहरूमा १ सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको छ ।
प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७ प्लाटुन, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले ३ प्लाटुन जनशक्ति २४ सै घण्टा खटाउन सक्ने गरी तयारी हालतमा राखेका छन् ।
सबै बाहिनिका गरि ५० वटा टोली अहिले विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएको छ ।