धनगढी: अछामको साँफेबगर नगरपालिकामा सिसिटिभी क्यामेरा खरिद गरि जडान नगरिएको भन्दै बजार व्यवस्थापन समितिले नगरपालिकामा बुझाएको ज्ञापन पत्रको विषय विवादमा परेको छ। साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवर नेतृत्वले नगरपालिकामा बुझाएको ज्ञापन पत्रको बिषय विवादमा परेको हो।
स्रोतका अनुसार नगरपालिकाले नियमानुसार सिसिटिभी क्यामेरा खरिद गरेको बिषयलाइ विषयान्तर गरेर बजार व्यवस्थापन समितिका अध्यक्ष कुँवरले अतिरञ्जित गरेको बताइएको छ। नगरपालिकाले कुँवरले बजार व्यवस्थापन तथा सुधारका नाममा माग गरेको बजेट नगरपालिकाले भुक्तानी नगरेपछि नगरपालिका र नगरपालिकासंग सम्वन्धित व्यक्तिहरुलाई बदनामित गर्न सिसिटिभी क्यामेरा खरिद गरि जडान नगरिएको बिषयलाइ अतिरञ्जित गरेको जनाएको हो।
आफूले माग गरेको करिव २० लाख रकम नगरपालिकाले बिनियोजित नगरेपछि आक्रोशित बनेका कुँवरले नगरपालिकाविरुद्ध लाग्ने काम गरेको नगरका एक कर्मचारीको भनाई छ। साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माका अनुसार नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को बजेट अन्तर्गत ८ लाख ५० हजारमा सिसिटिभी क्यामेरा खरिद गरिएका थिए।
अधिकृत शर्माका अनुसार सिसिटिभी खरिदका लागी बजेट बिनियोजन भए अनुसार खरिद प्रकृया टुंगिए पनि जडानबारे बजेट सुनिश्चित नहुदा खरिद गरिएका क्यामेरा नगरपालिकाको स्टोरमा सुरक्षित राखिएका छन्। आर्थिक वर्षको अन्तिमतिर बजेट फ्रिज हुने देखिएपछि हतार हतारमा सिसिटिभी क्यामेरा खरिद गरिएकोमा उक्त क्यामेरा कुन कुन ठाउँमा जडान गर्ने भन्नेबारे स्थानीय सरोकारवाला जागरुक नभई जिल्ला प्रशासन कार्यालयबाट क्यामेरा जडानको अनुमति लिने कार्य अघि नबढ्दा हाल सम्म सिसिटीभी क्यामेरा जडान गर्न नसकिएको नगरपालिकाको भनाइ छ।