काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन प्रदान गरेको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई उक्त एम्बुलेन्स र शव वाहनको साँचो हस्तान्तरण गरेका हुन्।
सो अवसरमा आईजीपी कुँवरले बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित प्रहरी अस्पताललाई यस सहयोगले थप सहजता पुग्ने बताए। उनले कुनै पनि घटना र दुर्घटना हुँदा तत्काल उद्धार गरी अस्पताल पुर्याउनुपर्ने भएकोले सवारीसाधन निकै महत्त्वपूर्ण र उपयोगी हुने पनि बताए।
प्राप्त एम्बुलेन्स र शव वाहनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उनको भनाइ छ। प्रहरीमा स्रोत र साधनको कमी ठूलो चूनौतीको रुपमा रहेको उल्लेख गर्दै आईजीपी कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुका साथै सामूहिक भावनाको विकास हुने पनि बताए।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले विगतमा पनि बैंक र प्रहरी संगठनबीच भएका समन्वय, सहकार्य र सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने बताए।
उनले यसबाट बैंक र प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्वास पनि व्यक्त गरेका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नायव महानिरीक्षकहरु, बैंकका उपकार्यकारी अधिकृत तथा पदाधिकारीलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति थियो।