काठमाडौं: युगान्डालाई ३९ रनमै अलआउट गर्दै वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिज १३४ रनले विजयी भएको हो ।
जितसँगै वेस्ट इन्डिजले समूह सी मा दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पाँच विकेटले पराजित गरेको थियो।
युगान्डाको यो दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग युगान्डा १२५ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा पुनरागमन गर्दै पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको थियो।
युगान्डा दुई अंकसहित तेस्रो स्थानमा छ। वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमात्रै बनाउन सकेको हो ।
समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो। युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् ।
युगान्डालाई सस्तैमा रोक्न वेष्टइन्डिजका अकिल हुसैनले सर्वाधिक ५ विकेट लिए । हुसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिँदा अल्जारी जोसेफले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे ।
यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक÷एक विकेट लिए ।
गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले सर्वाधिक ४४ रन, रोभमन पावलले २३ रन ,निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए ।
यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट पारि खेले । युगान्डाका बसिन मासाबाले २ विकेट लिए।
जारी विश्वकपमा युगान्डाले बनाएको यो सबैभन्दा कम रन हो। यसअघि अफगानिस्तानको खेलमा युगान्डा ५८ रनमै अलआउट भएको थियो।
सन् २०१४ को विश्वकपमा श्रीलंकाले नेदरल्यान्ड्सलाई १०.३ ओभरमा अलआउट गर्दै ३९ रनमै रोकेको थियो। यो नै विश्वकपमा बनेको सबैभन्दा कम स्कोर थियो।