धनगढी : अछाममा कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएर घाइते भएका खच्चडको उपचारको लागि पशु प्राविधिकको टोली परिचालन भएको छ ।
आइतबार बिहान पुलको लठ्ठा चुँडिएर १३ ओटा खच्चडहरू फसेका थिए । पुलमा फसेका १३ मध्ये ११ वटा घाइते छन् भने २ ओटाको मृत्यु भएको छ ।
घाइते खच्चडहरुलाई हिजोदेखीनै पशु प्राविधिकहरुले उपचार गरिरहेका छ । घटनास्थलमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछाम र पञ्चदेवल विनायक नगरपालिका पशु सेवा शाखाको टोलीले उपचार गरिरहेको छ ।
घाइते खच्चडहरुलाई कर्णालीको किनारमै राखेर उपचार गरिरहेको विज्ञ केन्द्र अछामका प्राविधिक ज्ञानबहादुर थापाले जानकारी दिए ।
घाइते खच्चडहरु सबै खतरामुक्त रहेको र घर लग्ने तयारी भइरहेको विज्ञ केन्द्र अछामका निमित्त कार्यालय प्रमुख बालमिक्की जोशीले बताए । कार्यालय प्रमुख डा.झनकदत्त ढुंगानासहितको टोलि घटनास्थल पुगेर उपचार गरेको जोशी बताए । उनिहरुको घाटीको छाला, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको उनले बताए ।
घाइते खच्चड पञ्चदेवल विनायक नगरपालिका-९ भाटगाउका ३ जनाका हुन् । नवीन रोक्काका ३ खच्चड, राजेन्द्र बोहराका ५ र जीवन रोक्काका ३ खच्चड रहेका छन् । मृत्यु भएका जीवन रोक्काका २ खच्चडको मृत्यु भएको र अरु ११ को अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।
पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको थियो। दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए।