धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री ओमविक्रम भाट (सरल) पदभार ग्रहण गरेसँगै सहिद परिवारको बस्तीमा पुगेका छन्। आज (सोमबार) बेलुका सपथ र पदभार ग्रहण गरेपछि मन्त्री भाट मध्यरातमा आफ्नो निर्वाचन क्षेत्रस्थित सहिद तथा बेपत्ता परिवारको बस्तीमा पुगेका हुन्।
उनले कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ स्थित बालुवाफाटास्थित बस्तीमा पुगेर मन्त्री भएको पहिलोपटक सहिद परिवारको बस्तीमा आशीर्वाद लिएका थिए। यस्तै उनले आफूले सहिद परिवार र निर्वाचन क्षेत्रको विकास एवं संरक्षणका लागि अहोरात्र खटिएर काम गर्ने जनाए।
५ सहिद परिवार रहेको सो बस्तीमा उनीहरूको रोजगारी, शिक्षा स्वास्थ्यका पनि विशेष प्राथमिकताका साथ काम गर्ने मन्त्री भाटको भनाई छ।
त्यस अगाडि भने मन्त्री भाटले नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टलाई निवासमै पुगेर भेटेका थिए। मन्त्री भाट तत्कालीन समयमा भट्ट मन्त्री हुँदा सँगै काम गरेका नेतासमेत हुन्। भट्टलाई भाटले पुरानो राजनीतिक अविभावकका रुपमा पहिलो भेटघाट गरेको जनाएका छन्।
तत्कालीन नेकपा विभाजनका बेला भने भट्ट एमालेतिर जादा भाट माओवादी केन्द्रमै रहेका थिए।
र, यो पनि: सुदूरपश्चिमका नवनियुक्त मन्त्री भाटको पहिलो निर्णय यस्तो छ ?
सुदूरपश्चिमका सामाजिक मन्त्री भाटद्धारा पदभार ग्रहण