काठमाडौँ : नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी)को निकास थुन्नेलाई काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना तिराएको छ ।
जरिवानाबाट उठेको रकमले ढुङगेधाराको पुनरुत्थानकाे काम सुरु भएको छ । अहिले पानीको निकास खोलिएको छ ।
हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ३ वटा मुख्य समस्या महानगरले पहिचान गरेको थियो ।
वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको कामले ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुने छ ।
पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको भेटिएको थियो ।
‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको नगर प्रमुखका सचिवालय सदस्य विनय शाक्यले बताए ।
निकास खोलिएकाले अब मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने उनको भनाइ छ ।
धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुको विवरण’ मा उल्लेख गरिएको छ ।
यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गाहिटि भएकोले बेला बेलामा निकास बन्द भइ पानी जम्ने गर्दछ ।
ढुङ्गेधाराको पानीको मुहान सुकेको छ ।’ यस्तै सुझाव दिँदै, ‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनिएको छ ।