धनगढी : छिमेकी चीनले टिंकर सीमासम्म सडक बनाउँदै छ । ताक्लाकोट बजारदेखि २२ किलोमिटर पश्चिमतर्फको सडक यसअघि नै निर्माण भइसकेकोमा नेपाल–चीनको सीमास्तम्भ छेउसम्म थप सडक निर्माण भइरहेको छ ।
कोभिड महामारीताका चीनले टिंकर सीमातर्फ झण्डै ५ किलोमिटर थप सडक निर्माण गरेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।
व्यास गाउँपालिका– १ टिंकरभञ्ज्याङको ५ हजार २ सय मीटर उचाइमा दुई देशको सीमा छुट्याउने १ नम्बर सीमास्तम्भ छ ।
चीनले सीमास्तम्भभन्दा २ सय मीटर तलसम्म सडक निर्माण गरिसकेको वडाध्यक्ष बोहराले बताए । आगामी असार ११ गतेदेखि टिंकर नाका खुल्ने भएपछि चिनियाँ पक्षले सडक मर्मत कार्य गरिरहेको उनले बताए ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीसहित सुरक्षा अधिकारीहरूसँगको भिडियो संवादपछि चीनको ताक्लाकोटस्थित सरकारी अधिकारीहरूले जुन २५ अर्थात असार ११ गतेदेखि नाका खोल्ने सहमति जनाएका छन् ।
नेपाली पक्षलाई त्यसदिन ताक्लाकोट पुगिसक्ने गरी आउन चिनियाँ पक्षले निम्ता दिएको प्रजिअ जोशीले बताए।
टिंकर नाका सञ्चालनको तयारीस्वरूप चिनियाँ पक्षले सीमा नजिकसम्मको सडक खोल्ने तयारी थालेको छ ।
जेठ पहिलो साता १ नम्बर सीमास्तम्भसम्म गस्ती गर्न पुगेको सशस्त्र प्रहरीको टोलीले चिनियाँ भूभागमा सडक मर्मत कार्य भइरहेको देखेको थियो ।