काठमाडौं : आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) श्रीलंकासँग खेल्दैछ।
खेल सुरु हुनुभन्दा आधा घन्टाअघि टस हुन पर्नेमा ढिलाइ भएको छ। अहिले मैदानमा सिमसिम पानी परेको छ। आइसिसीका अनुसार अहिलेसम्म मैदानको निरिक्षण भइरहेको छ।
समूह ‘डी’ मा पहिलो जितको खोजीमा रहेका दुवै टोलीलाई अमेरिका फ्लोरिडास्थित ब्रोवार्ड काउन्टीको मौसमले चिन्ता बढाएको छ।
सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको वर्षा साँझसम्म रोकिएको छैन।
मैदानको आउटफिल्डमा पानी जमेको छ। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको छ।
आइसिसीका अनुसार खेल सुरु हुने समयभन्दा ३ घन्टापछि (स्थानीय समयअनुसार राति १०:४१ बजे र नेपाली समयअुनसार विहान ८:२६ बजे) खेल हुनु हुन पर्नेछ।
मैदानको विषयमा मैदान प्राविधिकले अन्तिम पटक (स्थानीय समयअनुसार साँझ ८:३५ र नेपाली समयअनुसार विहान ६:२० बजे) मैदानको अवस्थाबारे जानकारी गराएपछि खेलको विषयमा निर्णय हुनेछ।
ढिला गरी खेल हुने सम्भावना भएमा ओभर घटाएर कम्तिमा ५ ओभरको खेल हुनेछ।