दार्चुला – स्थानीय तहको निर्वाचन नजिकिएसँगै सबै दलहरु प्रचारप्रसार तथा घरदैलोको अभियानमा लागेका छन् ।
दार्चुलाका ९ वटा स्थानीय तहमध्ये महाकाली अर्थात सदरमुकाम क्षेत्र भएकाले कसले नेतृत्व चलाउने भन्ने विषयमा महाकालीमा सबैको विशेष चासो रहेको देखिएको छ । यो नगरमा खासगरी ठूला राजनीतिक दलहरूले महाकाली नगरपालिकालाई महत्वका साथ हेरेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस र माओवादीसहितको गठबन्धन दल यतिबेला महाकालीमा बढी नै केन्द्रित देखिन्छन् । अघिल्लो निर्वाचनमा कमै मात्रामा मत प्राप्त भएता पनि एमाले भने यसपालीको निर्वाचनमा राम्रो नतिजा ल्याउने दाउमा रहेको छ । सदरमुकाम नगरको हार–जित दलहरूका लागि प्रतिष्ठाको विषय समेत बनेको छ । सबै दलले यस नगरलाई चासोका साथ हेरेको अवस्था छ’ एक जना स्थानीयले भन्नु भयो , ‘यो उनीहरुको प्रतिष्ठाको विषय पनि हो ।अघिल्लो निर्वाचनको मत परिणाम अनुसार महाकाली नगरपालिमामा मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस र एमाले रहेका थिए । १३ हजार मतदाता रहेको महाकाली नगरपालिकामा जम्मा ९ वटा वडा छन् ।
यो नगरपालिकामा अन्य साना पार्टीकोे जनमत पनि राम्रै भएको मानिन्छ । महाकाली नगरपालिकाको चुनावी मैदानमा यसपटक नेकपा (एकीकृत समाजवादी) पनि थपिएको छ । महाकाली नगरपालिकामा यो पटक कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् भने अरु दलहरू एक्ला–एक्लै भिड्दैछन् ।
कांग्रेसले प्रमुख र उपप्रमुखमा उम्मेदवार उठाएका छन् । भने केही वडाहरुमा माउवादी केन्द्रलाई उम्मेदवारी दिइएको छ । प्रतिस्पर्धी दलले नगरमा तेस्रो जनमत भएको पार्टीसँग तालमेल गरेपछि एमालेलाई चुनौती थपिएको छ । यस्तो परिस्थितिमा एकीकृत समाजवादीले काट्ने भोट निर्णायक बन्न सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । केही दिनयतादेखि दलहरूले उम्मेदवारसहित घरदैलो र चुनावी कोणसभाहरू गरिरहेका छन् । दलका चुनावी अभियान र कार्यक्रममा देखिएको उपस्थितिले पनि मतपरिणामबारे आ–आफ्नै जोडघटाउ सुरु भएका छन् । सबै दलहरु आक्रामक रूपमा चुनावी अभियानमा लागेको देखिन्छ ।
माओवादी केन्द्रसँग चुनावी तालमेल गरेकाले कांग्रेस दुई पार्टीको आन्तरिक शक्ति पनि जाँच्दै छ । त्यस्तै, निर्वाचनमा पहिलोपटक सहभागी भएको नयाँ दल एकीकृत समाजवादीले आफूलाई नगरमा पहिलोपटक परीक्षण गर्दैछ । विगतका निर्वाचन परिणामअनुसार महाकाली नगरपालिकामा मतदातास्थिर रहेको देखिन्छ । केही मत तलमाथि भएपनि एमाले र कांग्रेसकै उम्मेदवारले नगरको नेतृत्वमा बाजी मार्ने अवस्था देखिन्छ ।
गएको स्थानीय निर्वाचनमा महाकाली नगरपालिकामा प्रमुख उप प्रमुख सहित ८ वडा कांग्रेस र नौ नम्बर वडा एमाललेले जितेको थियो । कांग्रेस र माओवादी केन्द्रले कांग्रेसका हंस राज भट्टलाई प्रमुख कांग्रेसकै सुना बोहरालाई उपप्रमुखको उम्मेदवार बनाएका छन् ।
नेकपा एमालेले उनै नरसिह चैसिरलाई नगर प्रमुख र उपप्रमुखमा दर्गा विष्टलाई उम्मेदवार बनाएको छ । सबै दलबाट राजनीति र स्थानीयस्तरमा प्रभाव रहेका व्यक्तिहरू उम्मेदवार बनेकाले पनि महाकाली नगरपालिकाको चुनावी परिमाण यसपटक थप रोचक बन्ने देखिएको छ । गत स्थानीय तहको चुनावमा नगरपालिकामा कांग्रेसका हंशराज भट्टले ४ हजार ४३ मत ल्याएर विजयी भएका थिए । यो नगरपालिकामा माओवादी केन्द्रको ३४२ मत छ । एमाले उम्मेदवारले नगरपालिकामा ३ हजार ४७६ मत ल्याएका थिए । अहिले गठबन्धन एमाले भन्दा ९ सय ९ मतले बढी देखिन्छ ।