धनगढी : कैलालीको भजनी नगरपालिका-९ भुरुवा निवासी करन राजीका छोरा १४ वर्षीय दिपेश राजीको कान्द्रा नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। हिजो असार १ गते दिउँसो ३ बजेको समयमा नदीमा डुबेर मृत्यु भएको हो ।
दिपेश आफ्नै घरदेखि करिब ३ देखि ४ किलोमिटर टाढा रहेको कान्द्रा नदीमा पौडी खेल्न गएका थिए।
दिपेशसँगै ११ देखि १२ वर्ष उमेर समूहका ५ देखि ६ जना साथीहरू पनि पौडी खेल्न गएका थिए। घटनापछि उनीहरूले दिपेशको शव पानीबाट निकालेर नदी किनारामा राखी घरमा खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ भुरुवा गाउँका भलमान्सा बिल्लु राजीले टेलिफोनमार्फत प्रहरीलाई खबर गरेका थिए। त्यसपछि, प्रहरी चौकीबाट प्रहरी सहायक निरक्षक मोहन राम दमाईको कमाण्डमा प्रहरी टोली उक्त स्थानमा खटिएको थियो।
थप अनुसन्धानको लागि तालुक ईलाका प्रहरी कार्यालय भजनी कैलालीबाट प्रहरी निरक्षक लोक राज जोशीको कमाण्डमा क्यूआरटी सहितको प्रहरी टोली खटिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।