काठमाडौं : आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल सोमबार बिहान बंगलादेशसँग खेल्दै छ ।
सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५ः१५ बजेदेखि हुनेछ । नेपाल सुपर आठको दौडबाट भने बाहिरिएको छ । नेपालका लागि यो खेल प्रतिष्ठाको लडाईं मात्र हुने छ ।
नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हारेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग वर्षाका कारण रद्द भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडेका थिए । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । अनिल शाहले २७ रन जोडे । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए ।
दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभर बलिङ गर्दा मात्र १९ रन दिएर चार विकेट लिए । एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे ।
सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्।
नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिए। उनले मात्र १९ रन दिएर चार विकेट हात पारे। अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए। सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन्। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए।
बंगलादेशका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले ३ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।
यस समुहमा नेदरल्याण्डसको पनि सुपर आठको सम्भावना कायमै छ । भोलि बिहान नै हुने श्रीलंकासँगको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने छ । यसका लागि नेदरल्याण्डसको नेट रन रेट उत्कृष्ट हुनुपर्ने छ ।
यस समुहबाट नेपाल र श्रीलंका सुपर आठको दौडबाट बाहिरि सकेका छन् ।