धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले जिल्ला प्रहरी कार्यालय बाजुराको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनको क्रममा डीआईजी केसीले दैनिक रुपमा सम्पादित हुने काम कारवाही र सेवा प्रवाहको बारेमा गहन जानकारी लिए।
डीआईजी केसीले अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, कार्य शाखा, सामुदायिक शाखा, प्रशासन शाखा, प्रवन्ध शाखा, हिरासत कक्ष, प्रहरी परिचालन कक्ष, तथा ब्यारेकको पनि निरीक्षण गरे। निरीक्षणको क्रममा उनले प्रहरी कार्यालयहरूको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिहरूको अवलोकन गरे।
निरीक्षणको क्रममा डीआईजी केसीले प्रहरी कानुन कार्यान्वयनमा सदैव प्रतिबद्ध रहन र सर्वसाधारण नागरिकहरूसँग नरम र सहयोगी व्यवहार गर्न निर्देशन दिएका छन्। उनले मातहतका प्रहरी अधिकारी तथा जवानहरुलाई प्रहरी आचरण र कर्तव्यको सही परिपालन गर्न विशेष जोड दिए।
प्रहरी अधिकृत तथा जवानहरूसँगको संवादमा डीआईजी केसीले प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नागरिकलाई सेवा दिन सधैं तत्पर रहन प्रेरित गरे। अनुगमनको क्रममा डीआईजी केसीले प्रहरी कार्यालयको सुधार र सुदृढीकरणका लागि आवश्यक कदमहरू चाल्ने प्रतिबद्धता व्यक्त गरे।