धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अछाममा खच्चड उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई प्रहरीलाई पुरस्कृत गरेका छन्।
अछाम पुगेका डीआईजी केसीले प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरीलाई नगद पुरस्कार प्रदान गरे। प्रदेश प्रहरी कार्यालयले जेठ २७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा पुलमा फसेका खच्चडहरूको उद्धारमा साहसिक भूमिका निर्वाह गरेको भन्दै दुबै जना प्रहरीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।
पुरस्कार वितरण समारोहमा डीआईजी केसीले दुबै प्रहरीको साहसिक कार्यको प्रशंसा गर्दै अभिलेखमा रहने गरी नगदसहित पुरस्कृत गरिएको बताए। उनले प्रहरीको कर्तव्यपरायणता र साहसको उदाहरण प्रस्तुत गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरे।
खच्चड उद्धारमा प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरीले जोखिमपूर्ण अवस्थामा उद्धार कार्य सम्पन्न गरेका थिए। उनीहरुको यस योगदानलाई सम्मान गर्दै प्रहरी कार्यालयले नगद पुरस्कार प्रदान गरेको हो।
यस पुरस्कारले अन्य प्रहरी कर्मचारीहरूलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। डीआईजी केसीले भविष्यमा पनि यस्ता साहसिक कार्य गर्ने प्रहरीलाई सम्मानित गर्ने प्रतिबद्धता व्यक्त गरे।