धनगढी: हिजो (मंगलबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराज भट्टलाई नै बनाउन निर्देशन दिए। सुदूरपश्चिमबाट सभामुखबाहेक माओवादीका सबै माननीयहरुलाई काठमाडौं बोलाएर प्रचण्डले स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका हुन्।
यस्तै पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सहभागी भएका मन्त्रीहरुलाई भने फिर्ता नबोलाएर यथावत राख्न प्रचण्डबाट निर्देशन दिएको बताइएको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै यो सबै निर्देशन लिने र दिने भएको बताइएको थियो।
जबकी यस अगाडि सुरुमा दल नेता बनेका खगराजको अपमानजनक बहिर्गमन भएको थियो। खगराजलाई तत्कालीन समयमा बहुमतको निर्णयबाट हटाएर अर्का माननीय मानबहादुर धामी दल नेता बनेका थिए। पूर्वमन्त्री समेत रहेका धामी दार्चुलाबाट निर्वाचित माननीय हुन् भने खगराज डडेल्धुराबाट जितेर संसद् पसेका माननीय हुन्।
खगराजको पद खोसेर धामी दल नेता भएपछि नै सुदूरपश्चिमको संसदीय दलमा २ धार स्पस्ट भैसकेका थिए। त्यसमाथि हालै फेरि सुदूरपश्चिम प्रदेश सरकारमा खगराज पक्षलाई पेलेरै मन्त्रीहरु पठाइएपछि उनी निरीहताको अन्तिम बिन्दुमा पुगेझै भएका थिए। सोही क्रममा खगराजले पार्टीभित्र असन्तुष्टि व्यक्त गरिरहेका बेला प्रचण्डले राजधानी बोलाएर उनैलाई दल नेता बनाउन निर्देशन दिए। तर सो निर्देशन कार्यान्वयन हुने सम्भावना भने न्यून छ।
किनकी हालका दल नेता धामीले राजीनामा दिएर सजिलै खगराजलाई दल नेता बन्ने सुविधा नदिने जनाउँदै आफू प्रक्रियाबाट नेता बनेकाले उनलाई पनि प्रक्रियाबाटै नेता बन्न सुझाएका छन्।
सुझाएका मात्र होइनन्, खगराजलाई दल नेता बनाउन प्रचण्डको निर्देशनबारे समाचार बाहिरिएपछि धामीले खगराजलाई चुनौती नै दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ समाचारमात्र लेखाउनु भन्दा प्रकृयामा गएर फेस गरेकसो होला, कुरि कुरि।’ यसबाट धामीले नेता पद छोडेर खगराजलाई सुम्पिन सहज नहुने स्पष्ट देखिन्छ।
सोही क्रममा अर्का माओवादी माननीय तथा पूर्व मन्त्री झपट साउँदले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन्।
उनले लेखेका छन्,‘माया गर्नेको चोखो माया पनि देखियो। सन्दर्भ सुप माओवादी संसदीय दल।’ उनले आफूहरुलाई चोखो माया गर्दागर्दै धोका पाएको आभास भएजस्तै प्रतिक्रिया जनाएका हुन्।
उसो त खगराजको दल नेतामात्र खोसिएको होईन, पार्टीमा जिम्मेवारी पाउने सवाल पनि उत्तिकै दयनीय बनेको थियो। सोही दुःखका कारण पार्टी छोड्ने धम्कीसमेत दिन भ्याएका खगराज पछिल्लोसमय मौनप्रायः नै बसेका थिए। तथापि माओवादी सुदूरपश्चिमका इन्चार्ज गिरिराजमणि पोखरेलको आड पाएका उनले अहिले दल नेता बन्नेगरी सक्रियता बढाएको बताइन्छ। तर त्यो हाललाई सम्भव भने नभएको माओवादीकै एक प्रदेश माननीयको दाबी छ। उनका अनुसार प्रचण्डले निर्देशन दिएपनी संख्यात्मक हिसावले खगराज दल नेता बन्न नसक्ने अवस्थामा छन्।
सुदूरपश्चिममा सभामुखबाहेक माओवादीका १० जना सांसद छन्। १० जनामध्ये ५ जना दल नेता धामीको पक्ष र ५ जना खगराजको पक्षमा देखिएका छन्। पाँच÷पाँच जना दुई समूहमा हुँदा दुबै समूह बराबरीमा देखिएका छन्।
तत्कालीन माघ २२ गते खगराजको दल नेताबाट बहिर्गमन भएका बेला सभामुख बाहेकका १० सांसद मध्ये उनको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए। त्यो बेला धामीको पक्षमा रहेका शिवसिंह ओली मन्त्री हुन नपाएपछि अहिले खगराजको पक्षमा उभिएका छन्। त्यसकारण अहिले खगराजको पक्षमा पाँच जना पुगेका हुन्। अहिले उनको पक्षमा ओलीसहित झपट साउद, रमेश धामी र जानकी कुँवर पौडेल रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट (सरल), लक्ष्मी विक र गीतादेवी माल रहेका छन्। उनीहरूमध्ये रावल, भाट र विक सरकारमा मन्त्रीसमेत छन्।
खगराज के भन्छन् ?
उता दल नेता बन्न लागिपरेका खगराजले भने आफू संसदीय दलको नेतामा पुनर्बहाली हुन अध्यक्ष प्रचण्डको निर्णय कार्यान्वयन कुरेर बसेको बताएका छन्। गत माघमा बहुमत सदस्यहरूले दलको नेताबाट भट्टलाई हटाएपछि अहिलेको अवस्थामा आइपुग्दासम्म उनले आफू पर्खाइमै रहेको बताएका हुन्।
यस्तै खगराजले प्रचण्डको निर्देशन सबैले पालना गर्नुपर्ने पनि बताएका छन्। अध्यक्षको निर्देशन पालना नभए अराजकता बढ्ने उनको दाबी छ।
र, यो पनि: सुदूरपश्चिममा खगराजलाई नै दल नेता बनाउन प्रचण्डको उर्दी, मन्त्री यथावत रहने