धनगढी : बैतडीको सिगास गाउँपालिका–५ मा रहेको भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरुमा देखिएको ‘मास हिस्टेरिया’ अर्थात ‘कन्भर्जन डिसअर्डर’ को समस्याले विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ । विगत लामो समयदेखि किशोरीहरुमा देखिएको यस्तो समस्याले पठनपाठन प्रभावित बन्न पुगेको विद्यालयले जनाएको छ ।
विद्यालय उमेरका केही किशोरीहरु एक्कासी काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्ने, लगायतका लक्षण देखिने गरेका छन् । दिनैपिच्छे किशोरीहरुको समुह एकैसाथ यस्तो लक्षण देखाउदा विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ ।
दैनिकजसो हुने यस प्रकारको घटनाले विद्यार्थीहरुको मनोविज्ञानमा असर परेको छ । ‘दिनदिनै किसोरीेहरु काम्ने गरेका छन्, लछारपछार गर्छन, केही लडेर घाइते समेत भए, यस्तो समस्या देखिएपछि पढाइ नै हुदैन, सबै कक्षा प्रभावित हुन्छन्,’ कक्षा १० का छात्र बसन्त धामीले भने ।
विद्यालयमा किशोरीहरु काम्ने समस्या विगत एक दशकदेखि कायमै रहेको विद्यालयका प्रधानाध्यापक बिरेन्द्र धामीले जानकारी दिए । करिब एक दर्जन किशोरीहरुमा यस्तो लक्षण देखिने गरेको उनले बताए । ‘यस्तो समस्या १०/१२ वर्षदेखि नै हो, गर्मीयाममा यस्तो लक्षण बढी देखिने गर्दछ,’ प्रधानाध्यापक धामीले भने । प्रत्येक शैक्षिक सत्रको बैशाखदेखि असोजसम्म नियमित विद्यालयको वातावरण प्रभावित हुने गरेको उनले बताए ।
किशोरीहरु समुहमै एकै पटक काम्ने, रुने, लछारपछार गर्ने र दगुर्ने गरेका कारणले केही किशोरीहरु घाइते समेत हुने गरेको विद्यालयले जनाएको छ । विद्यालय भिरमा रहेकाले ठुलो दुर्घटनाको जोखिम समेत रहेको छ ।
यसलाई स्वास्थ्यका दृष्टिले कन्भर्जन डिसअर्डर भन्ने गरिएको छ । कन्भर्जन डिसअर्डर अर्थात मास हिस्टेरिया एक प्रकारको मनोसामाजिक स्वास्थ्य समस्या हो ।