काठमाडौं: कतारबाट फर्किएका एकजना अवैध सुनसहित समातिएका छन्। बाँकेको खजुराका २४ वर्षीय मोहमद दिलसाद खाँलाई प्रहरीले आज सिनामंगलबाट सुनसहित नियन्त्रणमा लिएको हो।
कतारबाट काठमाडौँ ओर्लिएका उनको साथबाट सुनको ब्रासलेट र औँठी बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए। कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर ६९.८९ ग्राम सुनको ब्रासलेट लुकाएर ल्याएका मोहमद समातिएका हुन्। त्यस्तै, उनको साथबाट ११. ६५ ग्रामको औँठी पनि बरामद भएको छ।
उक्त सुन ओसारपसार कार्यमा संलग्न अन्य दुई जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ। नवलपरासी गैडाकोटका ४३ बर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिकाका २५ वर्षीय अन्जिल गुरुङ समातिएका हुन्।
पक्राउ परेको तीन जनालाई बरामद भएको सुनसहित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।