बाजुरा– बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीका कार्यकर्ताबीच भएको झडप नियन्त्रणमा आएको छ ।
जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली घटनास्थलमा पुगेको केही बेरमा नै स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, सशस्त्र प्रहरी र थप प्रहरीको टोली घटनास्थलमा पुगेपछि स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले जानकारी दिए । उनले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका बताए । पक्राउ परेका नरेन्द्र कार्की र केशव कार्कीलाई सदरमुकाम मार्तडी ल्याइँदैछ ।
नेकपा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच कुकुरलाई हिर्काएको निहुँमा झडप भएको थियो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हवाई फायर गरेको प्रहरी निरीक्षक बोगटीले बताए । उनका अनुसार फेरि पनि दुई पक्षबीच झडप हुनसक्ने अवस्था कायमै रहेका कारण सुरक्षा टोलीलाई तैनाथ राखिएको छ ।
सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको र नेपाली सेनाले समेत घटनास्थलमा गस्ती गरिरहेको छ । झडपमा १६ जना प्रहरीसहित २० जना घाइते भएको प्रहरीले जनाएको छ ।