डडेल्धुरा– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । हरिशप्रसाद अवस्थी नामका मतदाताले आरजुविरुद्ध उजुरी दिएका हुन् ।
हिजो (विहीबार) स्थानीय तह निर्वाचनको प्रचारको क्रममा ‘कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने’ भनी दिएकी अभिब्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका हुन् ।
उजुरीमा भनिएको छ, ‘नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले स्थानीय तह निर्वाचनको प्रचारका क्रममा कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनी दिएको अभिब्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको छ ।’
जनताको करबाट सृजित राज्यको साधनस्रोत राणाले आफ्नो इच्छानुसार परिचालन गर्न नपाउने उल्लेख गर्दै उजुरीमा थप भनिएको छ, ‘राज्यको साधनस्रोत परिचालन गर्ने ब्यवस्था संविधान र कानून अनुसार हुने हो । निश्चित दलको मेयर भएको ठाउँमा मात्र राज्यको स्रोत उपलब्ध गराउने कुरा अन्यायपूर्ण हुन्छ ।’
नेतृ आरजुले गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी थिइन् । डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (वीपी)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
उनले भनेकी थिइन्, ‘करूवा, सरूवा, हरुवा पार्टीलाई भोट नहाल्नुस् । जहाँ कांग्रेसको मेयर नै छैन भनेत हामी किन पैसा पठाउँछौं ।’