काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ । चितवनको पर्सामा तीन दिनसम्म चलेको इतर पक्षको राष्ट्रिय भेलाले नेकपा (बहुमत) पार्टी गठन गरेको छ । यससँगै नेकपा पार्टी दुई भागमा विभाजित भएको हो ।
पार्टी महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले चुनावविरुद्ध उत्रिएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासन गरेपछि चुलिएको विवाद अन्ततः पार्टी फुटमा परिणत भएको हो ।
कारबाहीपछि सुदर्शन र बास्तोलाले बुधबार चितवनमा भेला डाकेर विप्लव र प्रकाण्डलाई पार्टीबाटै निष्कासन गरेको छ । साथै, तीन दिनसम्म चलेको भेलाले आगामी फागुनमा महाधिवेशन गर्ने गरि नेता धमेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी पनि गठन गरेको छ ।
यसैगरी भेलाले ‘बैज्ञानिक समाजवादी क्रान्ति’ लाई अंगीकार गरेको छ । यसअघि विप्लवले अघि सारेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गरिएको छ ।