धनगढी: कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर शुशीला कुमारी शाही यतिबेला विदैशिक घुमघाममा मस्त छिन्। केही समय अगाडि नेपाल छाडेर उनी तत्कालै फर्किने सुरसार देखिदैन। उनले आफ्नो सामाजिक सञ्जालमार्फत नयाँ नयाँ स्थानमा घुमेको तस्बिर ब्याकटुब्याक सार्वजनिक पनि गर्दै आएकी छन्।
रोचक कुरा त के छ भने स्थानीय सरकार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ। जो हिजोको दिन थियो। तर, उनै शाही मेयर भएको लम्कीचुहा नगरपालिकाले मेयरै नभएपछि बजेट ल्याएको छैन।
त्यहाँ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरिएपनि बजेट भने आएन। एक वडाध्यका अनुसार मेयर शाही यतिबेला वैदेशिक भ्रमणको क्रममा डेनमार्कमा छिन्। उनी गत जेठ ३० गते नै डेनमार्कको लागि उडेकी थिइन्।
उनी फर्केपछिमात्र नगरपालिकाले बजेट ल्याइने जनाएको छ। नगरपालिकाको बजेट ल्याउन छोडेर वैदेशिक भ्रमणमा रमाउन थालेपछि नगरप्रमुख शाहीको आलोचना भइरहेको छ।
यसैबिच १३ पालिका रहेको कैलालीको अन्य १२ पालिकाले बजेट ल्याएका छन्।