दार्चुला– महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको तीन महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । हस्तान्तरण हुन बाँकी भन्दै तालाबन्दी गरिएपछि स्थानीय समस्यामा परेका छन् । पुलमा हिँड्न नपाएपछि स्थानीयले तुइनकै भरमा नदी वारपार गर्न बाध्य छन् ।
स्थानीय दिपक भट्टले पुल सञ्चालन नहुँदा तुइनको साहारामा नदी वारपार गर्नुपरेको बताए । भारतीय सीमा सुरक्षा बलले बेलाबेला तुइन हटाएपछि दुहुँ र व्यास गाउँपालिकाका बासीन्दाको दैनिकी कष्टकर बनेको छ ।
व्यास गाउँपालिका–४ मल्घट्टेमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भएको थियो । व्यासकै वडा नम्बर ६ बडूगाउँस्थित महाकाली नदीमा पनि गत फागुनमै झोलुङ्गे पुल निर्माण भएको थियो । तर, दुवै पुलमा तालाबन्दी गरिएपछि स्थानीयले लुकिछिपि अवैध तुइनको साहारामा दैनिक वारपार गर्नुपरेको गुनासो गरेका छन् ।
थप दुई वटा पुल निर्माणसँगै सम्पन्न हुनुपर्ने र एकैपटक हस्तान्तरण गर्नुपर्ने भएकाले ती पुलहरुमा आवातजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले दुई वटा पुल एकै प्याकेजमा निर्माण सम्पन्न गरेसँगै सञ्चालनमा ल्याउनुपर्ने कार्ययोजना भएकाले पुल सञ्चालनमा नआएको बताए ।
महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले दार्चुलाका चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का लगाएको थियो ।