धनगढी : कैलाली जिल्लामा आज बिहान परेको चट्याङले दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जोशीपुर गाउँपालिका–३ भितरियामा बिहान करिब ७ बजे ३१ वर्षीय जयराम डगौरालाई चट्याङ लागेर घाइते भएका थिए। आफन्तले उनलाई महापार्वती क्लिनिकमा उपचारको लागि लगे पनि उपचारको क्रममा उनको मृत्यु भयो।
त्यसैगरी, बिहान करिब ८ बजे धनगढी उपमहानगरपालिका–१८ निवासी २७ वर्षीय शालिम चौधरीलाई आफ्नै खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लाग्यो। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो उपचारको क्रममा १० बजे उनको मृत्यु भयो।
घाइते हुनेहरूमा जानकी गाउँपालिका–४ बेलपुर निवासी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ निवासी ५५ वर्षीय राम बहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी निवासी ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका छन्।
उनीहरूको उपचार स्थानीय अस्पतालहरूमा भइरहेको छ। मौसम विभागले आगामी दिनमा पनि चट्याङ र खराब मौसमको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।