धनगढी : जिल्ला अस्पताल बैतडीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट शुशील बिकले सकसपूर्ण अवस्थामा काम गरिरहेको जनाएका छन्। बिहीबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरिएको स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल कार्यक्रममा उनले यस्तो जनाएका हुन्।
उनले गत वर्ष देशभरमै उत्कृष्ट भएको अस्पतालमा आफू प्रमुख भएको अवस्थामा कर्मचारीलाई दिने रकम नपाउदा समस्या भएको बताए। आफूले उत्कृष्ट अस्पताल भएको पुरस्कार पाएको र त्यो पुरस्कार देखाउन पनि समस्या भएको उनको भनाई छ।
मन्त्रालयबाट अस्पतालले पाउनुपर्ने कर्मचारीहरुको अपरेसन, जोखिम भत्ता, प्रोत्साहन भत्ता लगायतका रकम नपाएकोले समस्या भएको उनको दाबी छ। यसका साथै अस्पतालले बिजुली र पानीको बिल तिर्ने पैसा पनि नपाएकोले लाजै भएको उनको ठहर छ। त्यस्तै सो रकम प्राप्ति गर्नका लागि उनले मन्त्रालयलाई आग्रह गरेका छन्।
जिल्ला अस्पताल बैतडी गत वर्ष देशकै उत्कृष्ट अस्पताल बनेको थियो। स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्याङ्कन गर्दा ९५ प्रतिशत अङ्कसहित देशकै उत्कृष्ट अस्पताल बनेको थियो।
सोही अस्पतालमा केही महिना अगाडि अतिरिक्त सेवा सुविधा नपाएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरू विगत ९ महिनादेखिको अतिरिक्त सेवा र बिदाको समयमा गरेको काम वापतको रकम नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए। अहिले पनि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएको उनीहरूको गुनासो छ।