काठमाडौं – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने रोल्पाका ३४५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ ।
दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम दिइएको थियो । जिल्लाका ८१ मतदानस्थल गरी १७३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो ।
निर्वाचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले कसरी काम गर्ने वातावरण मिलाउने भन्ने विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत दिलीपराज पन्तले बताउनुभयो । नमूना मतदान अभ्यास पेटिकाअनुसार मतदान केन्द्रमा पुग्नुअघि र पुगिसकेपछि गर्नुपर्ने काम, मतदातालाई भोट हाल्ने तरिका, सुरुदेखि अन्तिमसम्म मतगणना, कस्ता व्यक्तिले भोट हाल्न पाउने–नपाउने, विषयमा तालिममा जानकारी गराइएको उहाँले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत पन्त, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, माडी, रुन्टिगढी, त्रिवेणी गाउँपालिकाका निर्वाचन अधिकृतलगायतले तालिमको सहजीकरण गर्नुभएको थियो । अघिल्लोपटकको चुनावमा पनि मतदान अधिकृत भएर काम गर्ने अवसर पाएकाले यसपटकको तालिमले आफूलाई थप सजिलो बनाएको मतदान अधिकृत पूर्णबहादुर बुढामगरले बताउनुभयो । पूर्णरूपमा निष्पक्ष, धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नमा आफू प्रतिवद्ध रहेको घर्तीले बताउनुभयो ।
रोल्पामा एक नगरपलिका र नौ गाउँपलिका रहेका छन् । जिल्लामा एक लाख ४५ हजार ४४४ मतदाता सङ्ख्या रहेको छ । महिला ७३ हजार ५१० र पुरुष ७१ हजार ९३५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिनुभएको छ ।