धनगढी: बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहरालाई धम्की दिइएको छ। बोहराले अस्ति मध्यरातमा आफूलाई ज्यान मार्ने धम्की आएको महेन्द्रनगरपोष्टलाई बताइन्।
उनका अनुसार गाउँपालिकामै कार्यरत कर्मचारीले उनी बस्ने कोठाबाहिर आएर ज्यान मार्ने धम्की दिएका हुन्। उनले राति मदिरा पिएर जनप्रतिनिधिकै कोठामा आएर कर्मचारीले धम्की दिँदा आफू असुरक्षित भएको र प्रशासनलाई जानकारी गराएको उनको भनाई छ।
यस्तै तीनै धम्की दिने कर्मचारीको टोलीले बिहीबार राति सुरुमा गाउँपालिकाको पशु स्वास्थ्य प्राविधिक उपेन्द्र कुमार शाहलाई पनि धम्की दिएको उनले बताइन्। धम्की दिनेवाला भने पालिकाको रोजगार शाखामा कार्यरत सब इन्जिनियर लोकबहादुर विष्ट हुन्।
शाहले आफूलाई १२ बजे राति कोठामा आएर मार्ने धम्की दिएको र त्यसपछि उपाध्यक्षको कोठामा पस्न खोज्दै १ बजे रातमा धम्की दिएको बताए।
उपाध्यक्ष मञ्जुका अनुसार दिउँसो आयोजना भएको मदिरा पार्टीमा सहभागी नभएका कारण शाहलाई धम्काइएको थियो। उनले घटनाबारे आज(शुक्रबार) प्रहरीलाई जानकारी गराइसकेको बताइन्। अहिले भने धम्कीवाला टोलीले मिलापत्रका लागि दबाब गरिरहेको बुझिएको छ।