काठमाडौं : आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन ।
मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ लाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।
मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ ।
संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् ।
पहिलो संसद्ले २०१६ असार १९ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ सम्म सभामुखको भूमिकामा क्रियाशील थिए ।
२०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।
देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ ।