धनगढी : नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरी दश वटा मन्त्रालय बनाउने निर्णयलाई निर्लज्जताको पराकाष्ठा भएको बताएको छ।
प्रमुख सचेतक बिक्रम सिंह धामीले एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) अनधिकृत रुपमा सार्वजनिक भएको घटनाको जवाफ नआउँदै सरकारले मन्त्रालय विभाजन गरेको घटना गलत भएको उल्लेख गरेको छ ।
प्रमुख सचेतक धामीले विज्ञप्ति जारी गर्दै भने, “प्रदेश सरकारले भागबन्डा मिलाउन र मन्त्रीहरुका जागिरका लागि गरेको मन्त्रालय विभाजनबाट प्रदेशको थला परेको आर्थिक अवस्था झन कमजोर हुने तिर रत्ती पनी ध्यान नपुर्याउनुले वर्तमान सरकार सुदूरपश्चिम प्रदेशका प्रती उदासीन, असहिष्णु र गैर जिम्मेवारी छ भन्ने कुरा स्पष्ट हुन्छ।”
विज्ञप्तिमा प्रदेश सरकारले गर्दै आएका विवादित र अलोकप्रिय गतिविधिले प्रदेशको प्रतिष्ठा, मर्यादा र इज्जतमाथि गम्भीर प्रहार भएको उल्लेख गरिएको छ। “सरकारका जनविरोधी र विकास विरोधी कृयाकलापका विरुद्ध नेपाली कांग्रेस संसदीय दल कडा प्रतिवाद गर्नेछ,” विज्ञप्तिमा भनिएको छ। साथै, मन्त्रालय फुटाएर प्रदेशमाथिको थप आर्थिक व्ययभार बढाउने निर्णयको कडा निन्दा गर्दै तत्काल निर्णय सच्याउन प्रदेश सरकारलाई चेतावनी पनि दिइएको छ। अन्यथा उत्पन्न परिस्थितिको जिम्मेवारी प्रदेश सरकार आफैंले लिनुपर्ने सचेत गराइएको छ।
धामीले प्रदेश सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै भनेका छन्, “यस प्रकारको निर्णयले प्रदेशको आर्थिक अवस्थालाई झनै कमजोर बनाउनेछ। यसले जनताको विश्वासमा ठेस पुग्नेछ।” नेपाली कांग्रेस संसदीय दलले जनताको पक्षमा उभिएर सरकारका हरेक गलत निर्णयको विरोध गर्ने प्रतिवद्धता पनि जनाएको छ।