काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट आफूलाई हटाइएको विषयमा जानकारी नै नभएको बताएकी छन्। महेन्द्रनगरपोष्टसँग कुरा गर्दै रञ्जिताले आफूलाई दल नेता परिवर्तनको विषय जानकारीमा नआएको बताइन्।
यस्तै उनले आफू मन्त्री बन्ने कुरा पनि तलमाथि नभएको बताएकी छन्। आजमात्रै उनलाई दलको नेताबाट हटाएर गङ्गा चौधरीलाई नेता चयन गरिएको थियो।
यसअघि प्रमुख सचेतक रहेका चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन्। यस्तै प्रमुख सचेतकमा पार्टीका संरक्षक रेशमलाल चौधरीका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरी तोकिएका छन्।
नाउपाका चार सांसदमध्ये गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई उक्त जिम्मेवारीबाट हटाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जितालाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट उनलाई हटाएका हुन्।
रञ्जिताले आफू नै मन्त्री बन्ने दाबी गरेपनी अब अरुण चौधरी मन्त्री बन्ने चर्चा छ।