धनगढी: आफूलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलको नेता दाबी गर्ने घनश्याम चौधरीले सुदूरपश्चिम सरकारलाई आफूहरुको समर्थन नरहेको जनाएका छन्। यस्तै उनले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी थालिएको पनि बताए।
दलको सहमतिबेगर सरकारमा सहभागी भएका २ जना मन्त्रीलाई केही दिनमा सरकारबाट अन्तिमपटक फिर्ता बोलाउने फिर्ता नआए कारबाही गरिने चौधरीको भनाई छ।
सुदूरपश्चिम प्रदेश सरकारमा नाउपामा २ जना मन्त्री सहभागी छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक र टीका थापालाई कृषिमन्त्री नियुक्त गरेका थिए।
सो समयमा उनीहरू दुईजनाले मात्र सरकारलाई समर्थन गरेर मन्त्री बनेका थिए। उनीहरू नाउपामा रञ्जिता श्रेष्ठ पक्षका हुन्। तर आजमात्रै रञ्जितालाई दलको नेताबाट हटाएर गङ्गा चौधरीलाई नेता चयन गरिएको छ।
यसअघि प्रमुख सचेतक रहेका चौधरीलाई बहुमत सांसदले संसदीय दलको नेता चयन गरेका हुन्। यस्तै प्रमुख सचेतकमा पार्टीका संरक्षक रेशमलाल चौधरीका बुबा तथा रञ्जिताका ससुरा लालवीर चौधरी तोकिएका छन्।
नाउपाका चार सांसदमध्ये गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई उक्त जिम्मेवारीबाट हटाएका हुन्।