धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को बैठक सम्पन्न भएको छ। आज (मंगलबार) क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पन्चा सिंहको प्रमुख आथित्यता एवं पार्टी र क्रान्तिकारीका पदाधिकारीसहितको सहभागीतामा चौथो पूर्ण बैठक सम्पन्न गरिएको हो।
धनगढीस्थित एसपीए एकेडमीको सभाहलमा बैठक सम्पन्न गरिएको र बैठकले विभिन्न निर्णयहरु गरेको अनेरास्ववियू क्रान्तिकारी सुदूरपश्चिममा इन्चार्ज भीमदत्त भट्टले जानकारी दिए।
उनका अनुसार बैठकले देशव्यापी रुपमा हुने आगामी राष्ट्रिय सम्मेलन लगायतका सम्मेलन गर्नका लागि यथेष्ट कार्ययोजना तयार गरेको छ। यस्तै बैठकले असोज २ देखि ५ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा सहभागी गराउने पनि निर्णय गरेको छ।
त्यस्तै क्रान्तिकारीको सुदूरपश्चिम प्रदेशको सम्मेलन भदौ २४ र २५ गर्ने, सबै जिल्लामा असाढ महिनाभित्र प्रदेशका सबै बैठक सप्पन्न गर्ने लगायतका निर्णय गरेको भट्टले बताए।
त्यसका साथै साउन मसान्तभित्र सदस्यता नवीकरण र तल्लो तहका सम्मेलनहरु सक्ने निर्णय पनि गरिएको छ। त्यस्तै भदौको ५ गते जिल्लाका सम्मेलन गर्ने पनि जनाइएको छ।
यसका साथै बैठकले प्रदेशको रिक्त सचिव पदमा तत्कालीन कोषाध्यक्ष कैलालीकी लक्ष्मी चौधरीलाई मनोनीत गरेको छ भने कोषाध्यक्षमा कञ्चनपुरका सुरेश भट्टलाई मनोनीत गरेको छ।