काठमाडौं : नेपाल प्रहरीमा औपचारिक रुपमा स्टाफ कलेज (माष्टर इन पुलिस साइन्स) कार्यक्रम सुरु भएको छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा बुधबार औपचारिक रुपमा कार्यालय स्थापना गरिएको छ ।
स्टाफ कलेजको कार्यकारी निर्देशकमा डिआइजी राजन अधिकारीलाई तोकिएको छ ।
एकेडेमीले आगामी दुई महिनाभित्रै स्टाफ कलेजका लागि प्रवेश परीक्षाको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रहरी निरीक्षक आधारभुत तालिमको १५८ तथा पिजिडिपिएस सातौं ब्याच एमपीएस सुरु गर्न लागिएको छ ।
यो ब्याचका ६५ जना डिएसपी तथा ७९ जना इन्सपेक्टर छन् । इन्सपेक्टरको ठूलो ब्याच भएकाले यही टोलीबाट कार्यान्वायन गर्न लागिएको हो ।
एमपिएस १६ महिनाको कोर्स हुनेछ । जसमध्ये पहिलो दुई महिना प्रवेश परीक्षाको लागि छुट्याइएको छ भने त्यसपछिका १० महिना आवासिय हुनेछ । अन्तिम चार महिनामा थेसिसका लागि छुट्याइएको छ ।
एक पटकमा प्रहरी प्रधान कार्यालयको तालिम निर्देशनालयले डिएसपी र इन्सपेक्टरमध्येबाट एक सय ५ जना छनोट गरी प्रवेश परीक्षामा सहभागीता हुन पाउनेछन् ।
उनीहरुमध्येबाट प्रवेश परीक्षा उत्तीर्ण गर्न सक्ने अधिकतम ३५ जनाले यस्तो कोर्स गर्न पाउनेछन् । प्रवेश परीक्षा त्रिभुवन विश्वबिद्यालयले नै लिनेछ । एक अधिकृतले अधिकतम तीन पटकसम्म प्रवेश परीक्षा दिन पाउनेछन् ।
न्यूनतम सात वर्ष पदावधि पुगेका इन्सपेक्टरले प्रवेश परीक्षा दिन पाउनेछन् ।
स्टाफ कलेज लागु भएपछि प्रहरी प्रधान कार्यालयले एसपी बढुवामा ६० प्रतिशत एमपीएस र ४० प्रतिशत अन्यलाई कोटा दिने नीति बनाएको छ । त्यस्तै, एसएसपी बढुवामा ८० प्रतिशत तथा डिआइजी बढुवामा शतप्रतिशत एमपीएसलाई मात्र बढुवा हुनेछन् । जसअनुसार प्रहरी नेतृत्वमा क्षमतावान अधिकृत मात्र पुग्नेछन् ।