धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहीमाथि कुटपिट गर्ने कुलाउ स्वास्थ्य चौकीका सिनियर अहेव पानबहादुर चन्द र मेडिकल सञ्चालक बिरबहादुर चन्दलाई प्रहरीले धरौटीमा छोडेको छ।
उनीहरुलाई बैतडी प्रहरीले ३ दिन थुनामा राखेर अस्ति ५/५ हजार धरौटीमा छाडेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीका अनुसार पीडित शाहको उजुरीका आधारमा उनीहरू पक्राउ परेका थिए।
अघिल्लो हप्ताको शुक्रबार उनीहरुले शाहमाथि गालीगलौज तथा कुटपिट गरि फरार भएका थिए। उनीहरूले स्वास्थ्य शाखा प्रमुख शाहलाई आफ्नो बारेमा गाउँपालिकामा रिर्पोट पु¥याएको भन्दै कुटेको बताइएको थियो।
कुटपिटपछि शाहको कम्मरमा समस्या आएको थियो। बैतडीका विभिन्न स्थानीय तहका कर्मचारीमाथि आर्थिक बर्षको अन्तीममा कुटपिट हुने गरेको छ।
जिल्लाको मेलौली नगरपालिका वडा न. ९ का वडाअध्यक्ष लोकराज भट्टले पनि अस्ति जिन्सी शाखामा कार्यरत कर्मचारी चक्रपाणी जोशीलाई कुटेपछि २ दिनसम्म कर्मचारीहरुले आन्दोलन गरेका थिए। अन्ततः वडाअध्यक्ष भट्टले माफी मागेपछि घटना मिलेको थियो।