धनगढी: बर्खा लागेसँगै सुदूरपश्चिममा जताततै बाढी, पहिरो र डुबानका समस्या देखिन थालेका छन्। लगातारको बर्सातले हिजोदेखि विपद्का घटना घटिरहेका छन्।
अहिलेसम्म सुदूरपश्चिममा पहिरोमा परेर एक जनाको ज्यानसमेत गएको छ। डडेल्धुराका नवराज पनेरुले पहिरोमा परेर ज्यान गुमाएका हुन्।
त्यस्तै प्रदेशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् भने विभिन्न स्थानका बस्तीहरु डुबानमा परेका छन्। यसैक्रममा सुदूरपश्चिम प्रदेश प्रहरीले विपद् लक्षित प्रहरी परिचालन गरेको जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी रविन्द्र केसीले सुदूरपश्चिमम विपद् उद्धार एवं रोकथामका लागि प्रदेशभर विभिन्न युनिटमा करिब २३ सय प्रहरी स्ट्यान्ड बाई राखिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार सुदूरपश्चिममा सम्भावित विपद्को समयमा उद्धार कार्यका लागि प्रदेशका सबै प्रहरी युनिटलाई ‘हाइ अलर्ट’मा राखिएको हो।
प्रहरीले अवरुद्ध विभिन्न राजमार्ग खुलाउन पनि काम गरिरहेको बताइएको छ। त्यस्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाले समेत विपद्मा मिलेर काम गरिरहेको छ।