काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब सम्पत्ति शुद्धीकरणको विषय पनि छानबिन तथा अनुसन्धान गर्न पाउने भएको छ।सरकारले कानून संशोधन गरी आयोगलाई थप अधिकार दिएकोमा अब सम्पत्ति शुद्धीकरणदेखि गोप्य रुपमा अनुसन्धान गर्न पाउने लगायतका अधिकार प्रदान गरिएको छ।
गत असार १७ गते अख्तियारको नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको छ।
जसअनुसार अख्तियारले अब सम्पत्ति शुद्धीकरणको कसुरमा पनि आफैं अनुसन्धान गरी अभियोजन गर्न पाउनेछ। त्यस्तै अनुसन्धानका क्रममा उसले शंकास्पद व्यक्तिको फोन गोप्य रुपमा रेकर्ड(इन्टरसेप्सन) समेत गर्न पाउने अधिकार नियमावलीले दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ लाई संशोधन गरी कार्यान्वायनमा लगिएको हो।
नियमावलीमा सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानको क्रममा नियन्त्रित अनुसन्धान प्रविधि, सुराकी परिचालन, अन्डर कभर अप्रेसन, टेलिफोन इन्टरसेप्सन, पक्राउ तथा बिद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच जस्ता अनुसन्धान विधि प्रयोग गर्न सक्ने उल्लेख छ।
सुराकी परिचालन गरी कसुरको सूचना प्राप्त गर्न आयोगले छुट्टै इकाई गठन गर्न सक्ने उल्लेख छ। जसअनुसार आयोगले तयारी अघि बढाइसकेको छ।