धनगढी : धनगढीमा प्रदेश स्तरीय सामाजिक सुरक्षा नीति संवाद सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा सोमबार धनगढीमा प्रदेश स्तरीय सामाजिक सुरक्षा नीति संवाद सम्पन्न भएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा नीति र त्यसको कार्यान्वयको बिषयमा छलफल भएको थियो । नगर उपप्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरिप्रसाद लम्साल प्रमुख अतिथि रहेका थिए । यस्तै सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका सचिव चक्रमणि पाण्डे विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषको विषयमा प्रस्तुतिकरण राखे। उनले सामाजिक सुरक्षा लोककल्याणकारी राज्यको दायित्व भएको र नागरिकको मौलिक हक भएको भन्दै सबैलाई आबद्ध हुन र गराउन पहल गर्नुपर्ने बताए।
यस्तै युनिसेफ नेपालका सामाजिक सुरक्षा नीति विज्ञ ठाकुर ढकालले पनि आफ्नो प्रस्तुतिकरणमा सामाजिक सुरक्षा कोषले नागरिकको रक्षा गर्ने बताए। उनले सामाजिक सुरक्षालाई दिगो, भरपर्दो र जीवनभरका लागि बनाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरुले सुदूरपश्चिममा सामाजिक सुरक्षा कोषको कार्यान्वयनलाई बलियो बनाउनुपर्ने बताएका थिए।
उक्त संवादमा सहभागीहरुले नागरिकलाई जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको सुनिश्चितता गर्न आवश्यक स्रोत साधनको व्यवस्था र प्रभावकारी व्यवस्थापन आजको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रमलाई राजनीतिक नारा मात्र बनाएर सामाजिक सुरक्षाको उद्देश्य पूरा नहुने भन्दै सामाजिक सुरक्षालाई दिगो, भरपर्दो र जीवनभरका लागि बनाउनु धारणा राखेका थिए ।
यस संवादले प्रदेश स्तरीय सामाजिक सुरक्षा नीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।