धनगढी : अछामको ढकारी गाउँपालिकामा कार्यालय प्रमुख लक्ष्मण साहमाथि हातपात भएको छ। स्थानिय नेपाली काँग्रेसका नेता टंकबहादुर साउँदले हाकिम शाहमाथि हातपात गरेका हुन् ।
सोमबार अपराह्न ४ बजेको समयमा साउँदले कार्यालयमै शाहमाथि आक्रमण गरेको बुझिएको छ ।
यस घटनामा गाउँपालिकाले विज्ञप्ति जारी गर्दै कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको भन्दै प्रशासनको ध्यानाकर्षण गरेको छ। गाउँपालिकाले दोषीलाई तुरुन्तै कडा भन्दा कडा कारबाहीको माग गरेको छ र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति नभएसम्म सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।
यो निर्णयले सेवाग्राहीहरुलाई पर्ने असुविधा प्रति गाउँपालिका क्षमाप्रार्थी रहेको छ।
गाउँपालिकाले आफ्नो विज्ञप्तिमा भनेको छ, “कार्यालय प्रमुखमाथि भएको यो घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ र यसले कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति प्रति उदासिनता देखाएको छ। न्याय प्रदान गर्ने निकायहरुबाट उचित कारबाही नभएसम्म आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गर्दछौँ।”