काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकार गठनको तयारीमा लागेको छ। प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्।
उनको पक्षमा अहिलेसम्म नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीमात्रै रहेका छन्। त्यसकारण दाहालले विश्वासको मत पाउने सम्भावना निकै कम देखिन्छ। दाहालले यसअघि कांग्रेस नेतृत्वमा सरकार बनाउन पहल गरे पनि सम्भावना कम देखिएको छ।
तर अहिले केपी शर्मा ओली नेतृत्वको एमाले र कांग्रेसमा भने सरकारमा को-को जाने भन्ने विषयमा आन्तरिक छलफल चलिरहेको छ।
कांग्रेसमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएमा महामन्त्री गगन थापा, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये एकलाई पठाउने तयारी छ।
तर यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उपप्रधानमन्त्री नराख्ने विषयमा छलफल भएकाले उपप्रधानमन्त्रीबाहेक जानुपर्ने अवस्था भएमा त्यसबाहेकका नेतालाई पठाउने तयारीबारे पनि छलफल भएको स्रोत बताउँछ।
कांग्रेसमा रमेश लेखक र आरजू राणा देउवा सरकारमा सहभागी हुने करिब पक्काजस्तै भए पनि बाँकीको टुंगो नलागेको स्रोतले जानकारी दियो।
“गृह मन्त्रालयमा रमेश लेखकलाई पठाउने सभापतिज्यूको तयारी छ,” उनी निकट स्रोतले भन्यो, “आरजू राणा सरकारमा सहभागी हुने भए पनि परराष्ट्र या अरु कुनै मन्त्रालयमा पठाउने कि भन्नेबारेमा छलफल भएको छ।”
कांग्रेसमा देउवा, शेखर कोइराला, गगन थापालगायतको छुट्टाछुट्टै समूह भएकाले सबैलाई मिलाएर सरकारमा नपठाए समस्या पर्न सक्ने भयका कारण देउवाले अहिले त्यस विषयमा कसैसँग कुरा नगरेको उनी निकटका एक नेताले टिप्पणी गरे।
प्रधानमन्त्रीले अर्थ र सञ्चार मन्त्रालयले राख्ने भएका कारण कांग्रेसले गृह र परराष्ट्र राख्न सक्ने ती नेताको भनाइ छ।