धनगढी : नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो ।
सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ । मोहना नदीले पिलर बगाउने हो भने दुई दर्जन परिवारको विस्थापित हुने र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् ।
भारत र नेपालको सीमामा पर्ने १०५ नम्बर पिलर मोहना नदीले बगाउने जोखिम रहेको स्थानीयवासी खड्ग धामीले जानकारी दिए । ‘पिलर बगाएपछि समस्या हुन्छ’, उनले भने, ‘स्थानीय जनता आफ्नो जमिन बग्ने र भारततर्फ जाने हो कि भन्ने चिन्तामा छन् ।’
‘मोहना नदी पिलरतर्फ ठोक्किन थालेको छ, वर्षात् आयो कि पिलर बग्छ भनेर स्थानीय चिन्तामा बसेका हुन्छन्’, उनले भने । पिलर जोखिममा देखिएपछि टीकापुर नगरपालिकाले विपद् कोषको बजेटबाट बोल्डर हाल्ने निर्णय गरे पनि काम भएन ।
‘पिलर जोखिममा छ भनेर नै विपद् कोषको बजेटबाट रु १० लाख विनियोजन भएको हो, उपभोक्ता समिति पनि गठन भयो तर काम भएन’, टीकापुर नगरप्रमुख रामलाल डगौँरा थारूले भने, ‘यो राष्ट्रिय चासोको विषय पनि हो, यसमा प्रदेश र सङ्घीय सरकारको ध्यान जानुपर्छ ।’