धनगढी : धनगढी नाइरोबी फ्लाई किराको आतङ्क देखिएको छ। धनगढीमा अस्पतालहरूमा किराका कारण भएको समस्यासहित आउने बिरामीहरुको सङ्ख्या बढेको हो। धनगढीका निजी अस्पतालहरूमा दैनिक किराका कारण छालामा भएको समस्यासहित बिरामीहरू पुग्ने गरेका छन्। चिकित्सकका अनुसार मानिसको शरीरमा किराको सम्पर्कपछि रसायन निस्किन्छ। रसायनका कारण मानिसको छालामा फोका हुने तथा पाक्ने हुन्छ।
किराको सम्पर्कबाट बच्न चिकित्सकले आग्रह गरेका छन्। चिकित्सकले किरालाई हातले नछुने, लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्ने, झुलक प्रयोग गर्ने, झ्याल र ढोकाहरू बन्द गर्ने र वातावरण सफा राख्न भनेका छन्। किराको सम्पर्कमा आएका बिरामीहरूले छालालाई धुने तथा चिकित्सकको सुझाव अनुसार औषधीको प्रयोग गर्न भनिएको छ।
कसरी जोगिने ?
उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।
उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।
बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन । किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।
यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने बताउँछन् ।
सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।