धनगढी : बझाङको बित्थडचिर गाउँपालिकामा रात्रिकालीन सुरक्षा सुदृढ पार्न र वातावरणमैत्री ऊर्जा स्रोतको प्रवर्द्धन गर्न सौर्यबत्ती जडान गरिएको छ। गाउँपालिकाले शुक्रबार सुनकुडा क्याम्पस, विद्यालय र बजार क्षेत्रमा सौर्यबत्ती जडान गरि उद्घाटन गरेको छ । यो कार्यक्रम वित्थडचिर गाउँपालिकाको एक महत्वपूर्ण कार्यक्रम हो ।
गाउँपालिकाका उपाध्यक्ष धनलक्ष्मी मल्लका अनुसार बैकल्पिक ऊर्जा कार्यक्रम अन्तर्गत खरिद गरिएका सौर्यबत्तीहरु सुनकुडा क्याम्पस र सुनकुडा माविमा जडान गरिएको छ। लगत्तै देउलेख बजार, देउलेख प्राथमिक स्वास्थ्य केन्द्र, प्रहरी चौकी वित्थड, र स्याडी स्वास्थ्य चौकीमा पनि सौर्यबत्तीहरु जडान गरिने योजना रहेको उपाध्यक्ष मल्लले जानकारी दिइन् ।
गाउँपालिकाले सौर्यबत्तीहरु जडानबाट रातको समयमा गाउँमा सुरक्षित वातावरण सृजना हुने र उज्यालोको व्यवस्था भएसँगै विभिन्न सामाजिक क्रियाकलापहरु संचालन गर्न समेत सजिलो हुने विश्वास लिएको छ। सौर्य ऊर्जा उपयोगले स्थानीय स्तरमा हरित ऊर्जा प्रवर्द्धन गर्दै दिगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सौर्यबत्ती जडान कार्यक्रमले बझाङका ग्रामीण क्षेत्रहरुमा आधुनिक ऊर्जा पहुँचको उदाहरण प्रस्तुत गरेको छ। यसले अरु स्थानीय निकायहरुलाई पनि यस्ता प्रविधिहरु अपनाउन प्रोत्साहित गर्नेछ।