काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको प्रधानमन्त्री बनाउन दाबी पेस गरिएको छ। ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुसँग बहुमत सदस्यको समर्थन रहेकाले प्रतिनिधिसभा सदस्य ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि अनुरोध गरेका हुन्।
उनीहरुले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गरेको पत्र शुक्रबार राति नै हस्तान्तरण गरिसकेका छन्।
यसअघि ओलीको पार्टीले देउवासित मिल्ने भन्दै तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका थिए। त्यसपछि उनले प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
उनले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आह्वान गरेपछि काँग्रेस र एमाले शीर्ष नेताहरु दाबीपत्रसहित शीतल निवास पुगेका थिए।
आज शनिबार भएकाले ओली भोलि आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने र लगत्तै शपथ ग्रहण गराइने भएको छ।
यसैक्रममा हिजै कामचलाउ प्रधानमन्त्री बनेक्क्क प्रचण्ड आफ्नो निजी निवास खुमलटारतर्फ लागेका थिए। हिजो साँझ पदमुक्त भएलगत्तै बालुवाटारको सरकारी निवास अब हुने प्रधानमन्त्री ओलीलाई छाडेर प्रचण्ड खुमलटारतिर लागेका थिए। उनको त्यहाँ भव्य स्वागत भएको बताइएको छ।