धनगढी : नसर्ने रोग रोकथामको तथा नियन्त्रणका लागि छोटो दुरीको मैत्रीपुर्ण दौड सम्पन्न भएको छ । प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र कैलालीद्धारा आयोजित मैत्रीपुर्ण दौड शनिबार धनगढी रंगशालामा सम्पन्न भएको हो ।
बहुमुल्य स्वास्थ्य मेरो स्वास्थ्य नारा दिएर प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र गरेको मैत्रीपुर्ण दौड तीन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा महिलाहरुको दौड राखीएको थियो । जसमा कोपिला कुवँर प्रथम, जयन्ती गिरी दोस्रो र अमृता भट्टराई तृतिय भएकी थिइन् ।
यस्तै दोस्रो चरणमा सुदूरपश्चिम प्रदेश सभा सासंदहरुको दौड राखीएको थियो । उक्त समुहमा निर्मला साउँद प्रथम, डम्मरी महरा द्धितीय र खेमादेवी बिष्ट तृतीय भएकी थिइन् ।
तेस्रो चरणमा सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय लगायतका सरकारी कार्यालयहरुमा कार्यरत निजामती कर्मचारीको दौड राखीएको थियो । जसमा नविन ढकाल प्रथम, भुवन जोशी द्धितीय र नविन चौधरी तृतीय भएका थिए ।
प्रथम हुने कोपिला कुवँर र नविन ढकाललाई साइकल पुरस्कार प्रदान गरिएको छ भने अन्य विजेताहरुलाई भलिबल, फुटबल र ब्याट्मेन्टन प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री लक्ष्मी बिकले नसर्ने रोग रोकथामको तथा नियन्त्रणका लागि यस्ता अभ्यास तथा व्यायमहरु आवश्यक रहेको बताइन् । उनले सुदूरपश्चिमा प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्रले गरिरहेको विभिन्न कार्यक्रमहरुले व्यक्तिगत स्वास्थ्यको लागि पनि समय दिनुपर्ने आवश्यता औल्याएको बताइन् ।
यस्तै कार्यक्रममा समाजिक विकास मन्त्री ओमबिक्रम भाट (सरल)ले नसर्ने रोगविरुद्ध लड्न शारारिक व्यायम, कसरत र योगा नै महत्वपुर्ण रहेको बताए । उनले पछिल्लो पुस्ताहरु सामाजिक सञ्जालको कैदी बनिरहेको बताउदै सबैले दैनिक रुपमा व्यायमको लागि १ घण्टा समय दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागिहरुलाई भोलिदेखी नियमित रुपमा दौड्न र व्यायम गर्न आग्रह गरे ।
प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र कैलालीका प्रमुख हेमराज खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा झण्डै एक सयभन्दाबढीको सहभागिता रहेको थियो ।