काठमाडौ: सुन तस्करीको पैसा हुन्डीबाट भुक्तानीमा सघाएको आरोपमा पक्राउ परेका पेवेल नेपालका सञ्चालकको मुद्दा मिलाइदिने भन्दै डिल गर्ने पूर्वडिएसपी कृष्णप्रसाद (केपी) शर्मासहित चार जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ।
सिआइबीमा सेटिङ मिलाउने भन्दै साढे आठ लाख रुपैयाँ उनीहरुले लिएका थिए।
सिआइबीले पूर्वडिएसपी शर्मासहित झबिन्द्र खत्री, हरिप्रसाद अर्याल र हिमालप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुमध्यृ हरिप्रसाद र हिमाल प्रसाद फरार छन्।
उनीहरुले पेवेल नेपालका प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्यसँग आढे आठ लाख रुपैयाँ लिएका थिए। तर, पैसा दिएर पनि सिआबीले पक्राउ गरेपछि वास्तविकता बाहिर आएको थियो।
लगत्तै सिआइबीले खत्री र शर्मालाई पक्राउ गरेको थियो। बयानको क्रममा पूर्वडिएसपी शर्माले साढे आठ लाख रुपैयाँमध्ये एक लाख २५ हजार रुपैयाँ लिएको स्वीकार गरेका छन्।
उनले सिआइबीमा सेटिङ मिलाई राष्ट्र बैंकबाट केस हेर्न लगाई डिसमिस गराउने आश्वासन दिई सिआइबीको प्रहरीको नाममा पैसा लिएका हुन्।
त्यस्तै, झबिन्द्र खत्रीले डेढ लाख, हिमाल उपाध्यायले एक लाख २५ हजार र हरि प्रसाद अर्यालले चार लाख ५० हजार लिएको खुलेको छ।
यस मुद्दामा सोमबार जिल्ला अदालत, काठमाडौंमा बयान र थुनछेक हुँदैछ।